साफ च्याम्पियनसीप: रोमाञ्‍चक खेलमा श्रीलंकामाथि नेपालको जीत (original) (raw)

धादिङ, १९ असोज

माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जीत निकालेको छ । गएराति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलअन्तरले हराएको हो ।

नेपालको जीतमा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १-१ गोल गरेका थिए । श्रीलंकाका मर्विन हामिल्टन र डिलन दे सिल्भाले गोल गरे ।

खेलको ३०औं मिनेटमा नेपालले सुमन लामाको गोलमार्फत अग्रता लिएको थियो । नवयुग श्रेष्ठले डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले गोलमा परिणत गरेका थिए ।

दोस्रो हाफको ५२औं मिनेटमा अन्जनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । ५६औं मिनेटमा हामिल्टनले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको बल सोझै गोल भएको थियो र श्रीलंकाले खेलमा फर्कने संकेत गरेको थियो ।

८६औं मिनेटमा आयुषले गोल गरेपछि नेपाल ३-१ ले अघि बढ्यो । इन्जुरी समयमा पाएको पेनाल्टीमा डे सिल्भाले गोल गरेपछि खेल ३-२ को अवस्थामा आएको थियो । त्यसलगत्तै पाएको अवसरमा गोल गर्न नसक्दा श्रीलंका ३-२ ले स्तब्ध बन्यो ।

नेपाल भने लगातार दोस्रो जीत निकाल्दै ३ अंक जोड्न सफल भयो । २ खेलमा ६ अंक भएको नेपाल शीर्षस्थानमा उक्लिएको छ । ४ अंक रहेको बङ्गलादेश दोस्रो स्थानमा छ भने १ खेलमा १ अंक जोड्दै भारत तेस्रो स्थानमा छ ।