‘छक्का पन्जा ४’ बेनिशाको करिअरका लागि टर्निङ प्वाइन्ट ! (original) (raw)
काठमाडौँ । नेपाली बक्स अफिसमा यतिबेला फिल्म ‘छक्का पन्जा ४’ले तहल्का पिटिरहेको छ । रिलिजको दिनदेखि नै आक्रामक व्यवसाय गर्दै अगाडि बढेको फिल्मले आजको दिनसम्म पनि राम्रो दर्शक पाइरहेको छ ।
गत शुक्रबार रिलिज भएको यो फिल्मले १० करोड माथि व्यवसाय गर्ने अनुमान गर्न थलिएको छ ।
फिल्मको व्यवसाय दिन प्रतिदिन राम्रो हुँदै गएको अवस्था एकातिर छ भने अर्कोतिर फिल्मका कलाकारले अभिनयबाट समेत तारिफ बटुलिरहेका छन् । ती मध्यकी एक हुन् अभिनेत्री बेनिशा हमाल ।
हमालले फिल्ममा एउटा शक्तिशाली युट्युबरको भूमिका निर्वाह गरेकी छन् । उनका कारण ठूल्ठूला विषयका भण्डाफोर र एउटा राजनीतिज्ञ समेत परिवर्तन हुन्छन् ।
फिल्ममा बेनिशाको भूमिका सशक्त मात्र छैन, उक्त भूमिकामा उनी खरो पनि उत्रिएकी छन् । उनले फिल्ममा निर्वाह गरेको युट्युब पत्रकारको भूमिका हेर्दा लाग्छ, उनी पहिले देखि नै यो पेसामा छिन् वा उनीबाट यो भूमिकाको लागि निकै धेरै रिसर्च भएको छ ।
रियल वा रिल जीवनमा आफू पत्रकारको रुपमा ‘छक्का पन्जा ४’ अगाडि कहिल्यै नदेखिएको बेनिशा बताउँछिन् । ‘मेरो पत्रकारको भूमिकाबाट मेल भन्दा फिमेल धेरै खुसी छन् । किनभने उनीहरूको प्रतिक्रिया पनि धेरै आइरहेको छ,’ हमालले भनिन्, ‘विना रिसर्च यतिको सफलता धेरै खुसीको कुरो हो ।’
युट्युबर वेनिशा
नयाँ फिल्मको अफरमा हरेक कलाकार पहिले भन्दा आफ्नो फरक भूमिका होस् भन्ने सोच्छन् । ‘छक्का पन्जा ४’ फिल्मको अफर आउँदा बेनिशाले पनि त्यही हेरेकी थिइन् । फिल्म युनिटले पत्रकारको भूमिकाको लागि उनलाई अफर गर्दा उनी एकदमै एक्साइटेट भइन् । नयाँ चरित्र, त्यो पनि पत्रकारको भूमिका । जुन उनले यस अगाडि कहिल्यै गरेकी थिइनन् । त्यसैले, ओके भनिन् ।
‘नयाँ भूमिका पाउँदा एकदमै खुसी थिएँ, डर त नयाँ फिल्म गर्दै गर्दा हरेक पटक हुन्छ । त्यसमा झन् पत्रकारको भूमिका’, उनले भनिन् ‘छक्का पन्जा ४’ फिल्ममा पाउने स्पेसको कुरो पनि थियो । पत्रकारको भूमिका मात्र हो, कि आवाज पनि बुलन्द छ । मनमा धेरै प्रश्नहरू थिए ।’ आफूले पत्रकार पनि धेरै प्रकारका चिनेकोले अभिनयमा कसरी फरक देखिने भन्ने चुनौती देखेको उनले सुनाइन् ।
‘पत्रकारको भूमिका निर्वाह गर्दै गर्दा कसरी गर्ने भन्ने विषयमा धेरै प्रश्न थियो’ उनले भनिन्, ‘क्यारेक्टरमा यस्तो पत्रकार भनेर क्लियर थियो । यसैले रिसर्च, कसैको नक्कल गर्नु परेन ।’
‘एउटा इथिक्स भएको पत्रकारको भूमिका भएको भए, मैले रिसर्च गर्नुपथ्र्यो । त्यसको आफ्नै सिमा हुन्थ्यो । युट्यबर पत्रकार भएकोले जे पनि गर्न सक्छ भन्ने थियो । म पनि त्यस्तै भूमिकामा छु’ उनले थपिन्, ‘युट्युवर कसरी बोल्छ, रिसर्च कसरी गर्छ । क्यामरा फे्रन्ड्ली छ कि छैन । त्यसका लागि भने केही रिसर्च गर्नुपर्यो ।’
पत्रकारिताको ‘पावर’ बुझेँ
बेनिशाले कलाकारिताको दौरानमा धेरै प्रकारका पत्रकारको सामना गर्नु परेको छ । पहिले उनलाई लाग्थ्यो, पत्रकारिता भनेको सत्यतथ्य समाचार सम्प्रेषण गर्ने मात्र हो । केही हदसम्म शक्तिशाली छ भन्ने सामान्य बुझाइ थियो । फिल्म अभिनय सिलसिलामा भने उनले पत्रकारिता राम्ररी बुझिन् ।
पत्रकारिताको शक्ति कति छ भन्ने फिल्मबाट राम्ररी बुझेको उनको बुझाइ छ । ‘पत्रकारले चाह्यो भने सत्य बङ्ग्याउन पनि सक्दो रहेछ,’ उनले भनिन्, ‘मानिसलाई छिट्टै शिखरमा पुर्याउन र क्षणभरमा तल झार्न पनि सक्दो रहेछ ।’ पत्रकारिताको महत्त्व र शक्ति फिल्मबाटै बुझ्न पाएको उनको जिकिर छ ।
‘मानिस जहिले पनि धेरैसँग जोडिन चाहन्छ । पत्रकारिता त्यो फिल्ड पनि रहेछ । यो रमाइलो त छ नै, जोखिम पनि प्रशस्तै रहेछ’ उनी अगाडि थप्छिन् ‘पत्रकारिताको शक्ति सन्तुलन गर्न सकिएन भने जोखिम धेरै निम्तिँदो रहेछ ।’
राजनीति बुझाउँछ
हरेक कलाकारको कामबाट चिनिने चाहना हुन्छ । कामको तारिफसँगै व्यावसायिक सफलताले नयाँ काम दिलाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
धेरै फिल्मबाट राम्रो चर्चा पाएकी बेनिशाले व्यावसायिक सफलता भने पाउन नसकिरहेको अवस्था थियो । जसको कारण उनको करिअर सोचेजस्तो सुखद तरिकाबाट अगाडि बढ्न सकिरहेको थिएन । ‘छक्का पन्जा ४’ आफ्नो करिअरका लागि टर्निङ प्वाइन्ट बन्नेमा उनी ढुक्क छिन् ।
अहिले जसरी ‘छक्का पन्जा ४’ ले व्यवसाय गरिरहेको छ, त्यसरी नै अभिनयको तारिफ भइरहेको छ । त्यसले अहिलेसम्म लागेको फ्लपको ट्याग मेटाउने उनी बताउँछिन् ।
उनले खुसी हुँदै भनिन्, ‘कलाकारले जति नै राम्रो काम गरे पनि दर्शक भएन भने मिहिनेत खेर गयो । ‘छक्का पन्जा ४’ को मिहिनेत खेर गएन ।’ फिल्मको सफलताले कलाकारको ओज बढ्ने र नयाँ कामका लागि ऊर्जा मिल्ने उनको बुझाइ छ ।
‘छक्का पन्जा ४’ राजनीतिक विषयमा बनेको कमेडी फिल्म हो । कतिपयले फिल्म राजनीति बुझ्न हेर्नुपर्ने बताउँदा, कतिपयले कमेडी र मनोरञ्जनका लागि ठिक छ समेत भनेका छन् ।
बेनिशा भने वर्षाैँदेखि राजनीति नबुझ्नेका लागि फिल्मले दुई घण्टामा सजिलै बुझाउने बताउँछिन् । ‘मैले दुई वर्षदेखि राजनीति नबुझेको तपाईंको फिल्मले दुई घण्टामा बुझायो,’ उनले आफूलाई आएको दर्शकको प्रतिक्रिया सुनाइन् । दर्शकले सहज रूपमा पत्याउने राजनीतिक कथा फिल्मले बोकेको उनको भनाई छ ।
विवाह कहिले ?
विवाह कहिले गर्ने ? अविवाहित अभिनेत्रीले सधैँ सामना गर्नुपर्ने प्रश्न हो यो । उनले पनि मिडियाबाट यो प्रश्नको सामना जहिल्यै गर्नुपर्छ । फिल्म ‘छक्का पन्जा ४’ को प्रमोशनको क्रममा पनि उनलाई यो प्रश्नले पिछा छोडेन । जवाफ त उनले कतिपटक रेडिमेड दिएकी छन्, ‘विवाह हाम्रो हातमा हुँदैन । उचित समय आएपछि त्यो हुन्छ ।’ विवाह तत्काल आफ्नो प्राथमिकतामा नरहेको उनले सुनाइन् ।
‘अहिले मेरो फिल्म ‘छक्का पन्जा ४’ चलिरहेको छ । अहिलेको प्राथमिकता त्यो फिल्मको प्रचारप्रसार हो । त्यसपछि विवाहको विषयमा सोचौँला हुन्न ?’ बेनिशाले उन्मुक्त हाँसो फिजाउँदै भनिन् ।
उनले अहिलेसम्म रिल लाइफमा प्रेमका धेरै अनुभव लिएकी छन् । त्यो अनुभवका हिसाबले पनि उनी रियल जीवनमा प्रेममा हुनुपर्ने हो । तर उनी आफ्नो अहिलेसम्म प्रेमी नभएको बताउँछिन् । कतिपयले उनी प्रेममा रहेको तर बाहिर सार्वजनिक नभएको समेत बताएका छन् ।
उनी भने मानिसहरूलाई यस विषयमा गेस गर्न सुझाउँछिन् । केकी अधिकारी, वर्षा शिवाकोटी लगायत उनका समकक्षी धेरैले लगनगाँठो कसिसकेका छन् । त्यो कारणले पनि उनलाई विवाहको प्रेसर फ्यान, परिवार, आफन्त र साथीभाइहरूबाट हुने गरेको छ ।
‘विवाह जीवनमा लिने एक महत्त्वपूर्ण निर्णय हो । जसबाट जीवन भरसँगै हिँड्ने पार्टनर छान्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘सँगैका साथीहरूको विवाह भयो, परिवारको प्रेसर छ भन्दा पनि आफ्नो खुसी हेर्छु ।’ अहिलेसम्म राइट पार्टनर नभेटेको बताउने उनले भेटेपछि विवाहको खुसी सबैमाझ बाँड्ने सुनाइन् ।